काठमाडौं। सरकार र नेपाल निर्माण व्यवसायी महासंघ आज बैठक बस्ने भएको छ। निर्माण व्यवसायीको माग सम्बोधनका विषयमा गत वैशाख १६ गतेदेखि जारी बैठक आज पनि बस्ने भएको हो।
बीचमा निर्वाचनका कारण रोकिएको वार्ता पुन: आजका लागि बोलाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।
अध्यक्ष सिंहले भने, ‘निर्वाचनका कारण लामो समय वार्ता हुन सकेन। मंगलबारका लागि वार्तामा बोलाइएको छ ।’
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि समायोजन, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका त्रुटि सच्याउनुपर्ने लगायत व्यवसायीका मागका विषयमा गत वैशाख १६ गतेदेखि सरकार र महासंघबीच वार्ता जारी छ। महासंघले पटक पटक आफ्ना मागहरु राख्दै आएपनि सरकारले वेवास्ता गरेपछि गत वैशाख ८ गतेदेखि आन्दोलन सुरु गरेको थियो।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा दैनिक धर्ना दिइरहेको महासंघले वैशाख ११ देखि ‘निर्माण होलिडे’ घोषणा गरेर देशभरका अतिआवश्यक बाहेक सम्पूर्ण निर्माण कार्य रोकेको छ।
सरकार र व्यवसायीबीचको वार्ताले निष्कर्ष निकाल्न नसक्दा यतिबेला देशभरका निर्माणाधीन ५ हजारभन्दा बढी आयोजनाहरु अलपत्र अवस्थामा छन्।