काठमाडौं। अनेरास्ववियू भुगोल जिल्ला कमिटीले पेट्रोलिय पदार्थमा अत्याधिक मूल्यवृद्धि भएकाे भन्दै विरोध प्रदर्शन गरेको छ। आज बिहान अनेरास्ववियू भुगोल कमिटीले प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी विरोध प्रदर्शन गरेको हो।
कमिटीले सर्वसाधारण जनताले थेग्नै नसक्ने गरी पेट्रोल, डिजेल, मट्टितेल, खानेतेल, खाना बनाउने ग्यास लगायतमा मूल्यवृद्धि भएकाे भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएको छ। उनीहरुले सडकको बीचमा मोटरसाइकलमा ‘बिक्रीमा’ लेखिएको प्लेकार्ड त्यसैगरी खाना बनाउने ग्यासमा पनि विभिन्न विरोधजन्य प्लेकार्डहरु राखेर प्रदर्शन गरेका छन्। साथै उनीहरुले मूल्यवृद्धिको विरोध जनाउने अन्य विभिन्न प्लेकार्डहरु बोकेर आधा घण्टासम्म प्रदर्शन गरेका छन्।
अनेरास्ववियू टोखा नगर कमिटीका अध्यक्ष प्रशान्त डंगोलले आफ्नै देशमा प्रशस्त ग्यास उत्पादन क्षमता, पेट्रोलियम पदार्थको खानी, सुनदेखी नुन सम्मको अथाह खानीको भण्डार हुँदाहुँदै पनि कमिसनको सिलसिलामा देशलाई कंगाल बनाउन लालायित सरकारले बाहिरबाट सामाग्री ल्याउने र निरन्तर मूल्यवृद्धि गरिरहेको बताए। उनले सरकारले खानी उत्खनन गर्नुको सट्टा आयातमा प्रोत्साहन दिने र भएभरका स्रोतहरु खोला नालादेखि खनिज पदार्थको जिम्मा विदेशी कम्पनीलाई सुम्पने गरेकाले नेपाली जनता परनिर्भर हुन बाध्य भएको बताए।
अध्यक्ष डंगोलले भने, ‘अब यस्तो कमिसनखोरि, भ्रष्ट, लाचारी प्रवृतिलाई छानविन गरि जनताले नै कारबाहीको दायरामा ल्याउनुपर्ने अवस्था आइसक्यो। जनता जागरुक नभए सरकारे जनतालाई अझ ऋणको भारि बोकाउने र आफू निकटका कार्यकर्ताहरुलाई बिलासि जीवन बिताउन प्रोत्साहान गरिनै रहने छ।’
प्रदर्शनमा सहभागीहरुले सरकाको लाचारी पनले जनताले दैनिक महंगीको भारी बोक्नुपर्ने भएको आरोप लगाए।
प्रदर्शन कार्यक्रममा अनेरास्ववियू काठमाडौं जिल्ला कमिटी, टोखा नगर कमिटी, टोदा वडाकमिटी लगायतका अनेरास्ववियूका विभिन्न नगर र वडाकमिटीको उपस्थिति रहेको थियो।