गुल्मी। सयौं वर्ष अगाडीदेखि सत्यवती गाउँपालिका–६ जोहाङ्ग र वडा नं. १ रुद्रवेणीका बोटेमाझीहरु वडिगाड खोलाको किनारमा अस्थायी टहरामा गुजारा गर्दै आएका थिए। हाल सत्यवती गाउँपालिकाले डेढ करोड लगानीमा २३ वटा पक्की घर निर्माण गरीदिएपछि उनिहरुको लागि यसपालिको दशैं ऐतिहासिक र उत्साहमय वन्ने भएको छ।
गाउँपालिकाले वडा नं. ६ मा १४ वटा र वडा नं. १ मा ९ वटा गरी जम्मा २३ वटा पक्की घरहरु निर्माण सम्पन्न गरी बोटेमाझीहरूलाई हस्तान्तरण गरीसकेको छ। निर्माण सम्पन्न भएका पक्की घरहरुमा अलगै भान्साकोठा, प्रत्यकमा पानीको धारा, व्यवस्थित शौचालय, सुत्ने कोठा रहेका छन्।
बोटेमाझी समुदायले पहिलो पटक व्यवस्थित पक्की घरमा दशैं मनाउन पाउँदा आफुहरु धेरै खुसी रहेको बताएका छन्।