काठमाडौं। भारत सरकारको सहयोगमा निर्मित पोखरा महानगरपालिका–१३ ढाँडबेंसीमा आर्वा विजय माविको भवनको उद्घाटन गरिएको छ। भारतीय दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले मंगलबार कास्की जिल्लाको पोखरा–१३ ढाँडबेंसीस्थित आर्वा विजय माविको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी हुन्।
उक्त विद्यालय आर्वा विजय मावि कास्कीको पुरानो विद्यालय हो। ‘भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारतीय अनुदान सहयोगमा कुल ३ करोड ६३ लाख नेपाली रूपैयाँ लागतमा भवन निर्माण गरिएको हो।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन्।