धनुषा। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासँको मूल्य बढाएको विरोधमा बुधबार जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले जनकपुरधाम स्थित जानकी मन्दिरको छेउमा सडकमा मोटरसाइकल र ग्यासको सिलिण्डर राखेर विरोध गरेका छन्।
स्थानीय युवा शुशिल कर्णको नेतृत्वमा युवाहरुले पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहत दिनुको साटो आहत दिएको भन्दै बाध्य भएर विरोधमा उत्रिनु परेको बताए।
उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सडकमा मोटरसाईकल, ग्यास सिलिण्डरलाई राखेर प्रदर्शन गरिरहेका छन्।
स्थानीय युवा कर्णले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर गरेकाले आफूहरु आन्दोलनमा उत्रेको बताए।
सरकारले मूल्यवृद्धिको निर्णय फिर्ता नलिए आन्दोलन थप सशक्त ढंगले अघि बढाउने उनीहरुको चेतावनी छ।