काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थ र ग्यासको विस्थापन गर्ने विकल्पको तयारी गरिरहेको बताएका छन्।
बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले वैकल्पिक ऊर्जाको प्रयोग बढाउने दिशामा सरकारले सोच बनाएको बताएका हुन्।
उनले अहिले भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारण नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार भएको बताए। कार्कीले नेपालमा ऊर्जा उत्पादन बढिरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए।
आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य वस्तु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य सरकारले लिएको बताए।