काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो ।
मंगलबार बैठकको सुरुमै एमालेका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।
सांसद पाण्डेले अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । उनले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानविन हुनुपर्ने बताए । सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताए ।
सांसद पाण्डेले प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गरे ।