काठमाडौं। बुढीगण्डकी डुवान प्रभावितलाई पौने ५ अर्ब रुपैयाँ निकास गरिएको छ। बुढीगण्डकी डुवान प्रभावितका लागि दुई चरणमा ४ अर्ब ७० करोड रकम निकासा गरिएको हो ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा, वातावरण, पुनर्बास तथा पुनःस्थापना इकाइले डुबान क्षेत्रमा पर्ने घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा रकम वितरण गरेको हो । हालसम्म ३ हजार ४ सय ६८ जनाको खातामा रकम निकासा भएको बताइएको छ।
दुई चरणमा गोरखा र धादिङका प्रभावितको खातामा इकाइले रकम निकासा गरेको छ । मुआब्जाका लागि अझै करिब २ हजार प्रभावितले निवेदन दिएका छन् । चालु आर्थिक वर्षमा ६ करोड रकम मुआब्जा वितरण गर्ने लक्ष्य रहेको छ ।
बुढीगण्डकी डुवान प्रभावितलाई संरचना र बोटबिरुवाको मुआब्जा वितरणका क्रममा खातामा गएको रकम बैंकले विभिन्न बहाना बनाएर रोक्ने गरेको बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै समितिले मुआब्जा रकम बैंकमा दाखिला भएको १५ दिनभन्दा बढी हुँदा पनि बैंकले प्रयोग गर्न नदिएको बताएको हो । विभिन्न बैंकको खातामा डुवान प्रभावितलाई दिएको मुआब्जा रकम सम्बद्ध बैंकले विभिन्न बहानामा प्रयोग गर्न रोक लगाएको सरोकार समितिका संयोजक हरेराम ढकालले गुनासो गरे ।