दार्चुला। २ करोड भन्दा बढी लागतमा दार्चुलाको त्रिदेशीय सीमा नजिक पर्ने छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्ष पश्चात नयाँ भवन निर्माण शुरू गरिएको छ। सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको शान्ति, सुरक्षामा खटिएको प्रहरीका लागि सुविधासम्पन्न नयाँ भवन निर्माण शुरू गरिएको हो।
यसअघि पुरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीका लागि दुईतले ११ कोठे भवन निर्माण शुरू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिएका छन्।। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षकले निर्माण हुने भवनको शिलान्यास गरेका छन्। यो भन्दा अगाडी नेपाल प्रहरीले पुरानो जीर्ण भएर चुहिने भवनमा बसेर ड्युटी गरिरहेको थियो। छांगरुमै बाह्रै महीना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण शुरू गरिएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गर्न लागिएको हो।
भवन निर्माणका लागि कुल २ करोड २ लाख ८५ हजार ५१९ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते अबको २ वर्षभित्र भवन निर्माण सक्नुपर्ने सर्तको साथ ठेक्का सम्झौता गरिएको थियो ।
सो भवन निर्माणको लागि सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेट विनियोजन गरेको हो। त्यस्तै यस क्षेत्रमा मङ्सिरपछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न सकिँदैन। अहिले निर्माण व्यवसायीले जगको काम शुरू गर्ने तयारी गरीरहेका छन्। हाल भवन निर्माणका लागि चाहिने ढुंगा, गिट्टीको व्यवस्थापन गरिएको छ।
उक्त भवन निर्माणका लागि आवश्यक ३ हजार ५०० क्युफिट काठका लागि गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ। तर सामुदायिक वनले भने काठ दिन नसकिने बताएको छ। छांगरुमा चिसो हुने भएकाले न्यानो हुने गरी भवन निर्माण गर्नुपर्ने भएको कारणले गर्दा भवनमा काठको प्रयोग बढी हुने जनाएको छ।