काठमाडौं। यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सुरेश राउतले पाएका छन्। शुक्रबारको मन्त्रीपरिषद्को बैठकले राउतलाई महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
राउतले सोमबारबाट पदीय जिम्मेवारी सम्हाल्ने छन्। यसअघि उनी प्रदेश १ मा कार्यरत थिए।विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका नमराज घिमिरेलाई भने वन तथा वातावरण मन्त्रालय सरुवा भएका छन्। उनलाई वातावरण विभागको महानिर्देशकको जिम्मेवारी दिन लागिएको बुझिएको छ।
वन तथा वातावरण मन्त्रालय सरुवा भएको जानकारी पाएको भए पनि चिठ्ठी भने बुझ्न बाँकी नै रहेको घिमिरेल बताए। उनी २०७७ चैत २ गते महानिर्देशकको रुपमा यातायात व्यवस्था विभाग भित्रिएका थिए। यस अवधिमा उनले परिक्षणकालीन लाइसेन्स वितरण थालिएका कारण रसिदको भरमा हिँड्नुपर्ने समस्या हटेको बताए।
त्यसैगरी ६ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेर वितरण गरेको, नयाँ अनलाइन प्रणाली लागु गरेको दाबी उनले गरे। उनका अनुसार नयाँ प्रणालीमा १५ दिनभित्र सेवाग्राहीले भिजिट डेट पाउने गरी सेवामा सुधार भएको छ। नवीकरण हुने लाइसेन्सको समेत साउन १ गतेबाट एक महिना स्मार्ट लाइसेन्स प्रिन्ट हुने व्यवस्था मिलाएको उनको दाबी छ। त्यसैगरी बागमतीबाहेक सबै प्रदेशमा भेहिकल रजिष्ट्रेसन सिस्टम लागु गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ।