काठमाडौं। भारत सरकारले अनुदान सहायताअन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान गरेको छ। नेपालस्थित भारतीय दूतावासले एक कार्यक्रमबीच नेपालका विविध हितग्राही संस्थाहरूलाई ती एम्बुलेन्स र बस उपहारस्वरूप प्रदान गरेको हो।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले ती संस्थाहरूलाई चाबी प्रदान गरेका हुन्।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको कार्यक्रमको हिस्साअन्तर्गत ती एम्बुलेन्स र बस हस्तान्तरण गरिएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपहारस्वरूप उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा रहेका संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप दिइसकेको छ ।