म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युतगृहामा चट्याङ पर्दा चार वटा गाउँ अन्धकारमय भएको छ।
सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्याएको हो।
चट्याङले चार लाख ५५ हजार बराबरको क्षति भएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए ।
जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।