काठमाडौं। अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रीडमा जोड्ने प्रसारणलाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राली को ४०० केभी प्रसारणलाइन आयोजना अन्तर्गतको निर्माणाधिन डिडिंग– ढल्केबर–बथनाह ४०० केभी प्रसारणलाइनको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न लागिएको हो।
धनुषाको साविकको ढल्केबर २ (क), तल्लो गोदार ५ (क), तल्लो गोदार ७ (ख), तल्लो गोदार ४ (क) गाविसमा पर्ने जग्गाहरु अधिग्रहण गर्न लागिएको हो। २२ जना व्यक्तिको नाममा रहेको निजी जग्गा अधिग्रहण गर्न लागिएको हो।
प्रसारणलाइनको टावरहरु निर्माणका लागि जग्गा तथा जग्गामा रहेको घर, गोठ, टहरा तथा रुख विरुवा समेत स्थायी रुपमा अधिग्रहण गर्न लागिएको हो। बाटोको म्याद बाहेक १५ दिनभित्र आफ्नो जग्गा प्राप्त नपर्नु पर्ने कुनै कारण भएको त्यसको कारण खोली आयोजना मार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिन्छ।