जुम्ला। जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा एकै परिवारका दुई छोरा र आमाको मुत्यु भएको हो ।
गय राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।
उनका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् ।तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।
पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।
शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रजिअ रिजालले बताइन् ।