काठमाडौं। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युत्को खम्बा ढालेपछि अन्धकार भएको छ। अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा (पोल) ढालेपछि गाउँ अन्धकार भएको हो।
फुङ्लिङ नगरपालिकाका अनुसार अविरल वर्षाका कारण फुरुम्बुको ओठे क्षेत्रमा शुक्रबार राति करिब १२ बजेपछि पहिरो गएको थियो। उक्त पहिरोले ओठे क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको चारवटा खम्बा ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको र हाल फुरुम्बुको आधा बस्ती अन्धकारमय बनेको बताइएको छ।
फुरुम्बुको साविक वडा १, २, ३ र ४ मयाम क्षेत्रका करिब तीन सय परिवार विद्युत् उपभोग गर्नबाट बञ्चित भएका छन्। यस्तै सडक क्षेत्रमै पहिरोले ढालेको विद्युत्को खम्बा र तारका कारण जोखिम पनि बढेको नगरपालिकाले जनाएको छ। विद्युत्को खम्बा ढालेर क्षति पुगेको अवस्थाबारे शनिबार बिहानै नेपाल विद्युत् प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रलाई जानकारी गराएको बताइएको छ।
यता नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले फुरुम्बुमा पहिरोले क्षति पु(याएको संरचनाको मर्मत–सम्भारका लागि आइतबार मात्र प्राविधिकसहितको टोली जाने जनाएको छ। जिल्लाको अन्य क्षेत्रमा पनि विद्युत्को खम्बा र तारसहित प्रसारण लाइनमा क्षति पुगेकाले उक्त ठाउँहरूमा शनिबार मर्मत गरिएको वितरण केन्द्रले जानकारी दिएको छ।