काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरमा सप्तकोसी नदीको बाँध फुटेको छ।
बेलका नगरपालिका ८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । उनका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।
यो सँगै बेलका नगरपालिका १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको छ ।
अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै मानवीय क्षति भने नभएको घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले जानकारी दिए ।