पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युत प्रसारण लाइन भूमिगत गरिने भएको छ। वन तथा वातावरण मन्त्रालयले निकुञ्ज क्षेत्रमा ३३ केभी क्षमताको भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति दिएको हो।
बुधबार मन्त्रीस्तरको निर्णयबाट ४ हजार ८ सय ३० मिटर लामो विद्युत लाइन जडान गर्न अनुमति दिएको छ। वन मन्त्रालयका सहायक वन अधिकृत ज्ञानेन्द्र कायस्थले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुधबार नै यस सम्बन्धमा जानकारी सहितको पत्र पठाएका छन् ।
पत्रमा नेपाल विद्युत प्राधिकरणका हाल भइरहेको १३२ केभी विद्युत प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्नेगरि ३३ केभीको अन्डरग्राउण्ड प्रसारण लाइन विस्तार गर्नुपर्ने उल्लेख छ ।
पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बारा जिल्लाको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म ४ हजार ८ सय ३० मिटर लम्बाइको ३३ केभी क्षमताको अन्डरग्राउण्ड विद्युत प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले सहमति माग गरेको थियो ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले ३३ केभीको विद्युत लाइन विस्तारपछि पर्सा बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने दावी गरे । यस क्षेत्रका उद्योगीहरुले समय–समयमा विद्युत अवरुद्ध हुने, भोल्टेज कम आउने, अघोषित लोडसेडिंगका कारण सास्ती खेप्दै आएका छन् ।