काठमाडौं। रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको विद्युत आगामी मंसिरभित्र प्रणालीमा जोडिने भएको छ । सानिमा हाइड्रो समूहको सहायक माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले निर्माण अन्तिम चरणमा पुर्याएको आयोजनाको काम पूरा हुन लागेको हो ।
आयोजनाको सबै क्षेत्रको काम एकसाथ अघि बढेको आयोजनाले जनाएको छ। आयोजनाको सिभिलतर्फ ८५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।
आयोजनामा १ किलोमिटर लामो पेनस्टक पाइप राखिएको छ । यसको काम पनि ७५ प्रतिशत सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य धमाधम भइरहेको छ । विद्युतगृहको ९० प्रतिशत काम सकिएको छ । यस्तै, आयोजनाको हाइड्रो मेकानिल र इलेक्टोमेकानिल जडानको काम क्रमशः ५५ र ६५ प्रतिशत सकिएको छ ।
आयोजनाको सबै काम पूरा गरेर आगामी पुसभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि कोरोना महामारीको पहिलो र दोस्रो लहरका बेला नराम्ररी प्रभावित हुँदा प्रभावित भएको हो ।
आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
प्रसारण लाइनको काम पनि ४५ प्रतिशत पूरा भएको छ । लाइनको जग खन्ने काम ५० प्रतिशत पूरा भएको छ । आयोजना निर्माण पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सानिमा हाइड्रो समूह अन्तर्गत निर्माण भइरहेको आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।