काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ३२ दशमलव ९८ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा रू. ४० करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा रू. ५४ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी करिब १० प्रतिशत बढेको छ । अघिल्लो आवमा रू. ८५ करोड ३ लाखभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले गत आवमा रू. ९३ करोड ५० लाखभन्दा बढीको विद्युत विक्री गरेको हो ।
१० प्रतिशत बोनस शेयरमार्फत् चुक्तापूँजी बढाएर रू. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार पुर्याएको कम्पनीको रिटेन्ड अर्निङ ३६ दशमलव ५७ प्रतिशत बढी अर्थात् रू. ९१ करोड ७० लाखभन्दा बढी कायम भएको छ । जगेडा कोष रकम भने करिब ४१ प्रतिशत बढी अर्थात् रू. ९४ लाख कायम भएको छ ।
कम्पनीको कुल सम्पत्ति रू. ५ अर्ब ७२ करोडभन्दा बढी र कुल दायित्व रू. १ अर्ब ७१ करोडभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी अघिल्लो आवमा रू. १४ दशमलव ४७ रहेकोमा गत आवमा रू. १७ दशमलव ५० कायम भएको छ ।
यस्तै, प्रतिशेयर नेटवर्थ अघिल्लो आवमा रू. १२४ दशमलव १४ रहेकोमा गत आवमा रू. १२९ दशमलव ९९ पुगेको छ ।