गलेश्वर। वर्षाको समय पानी परेर चिप्लो भएको भीरको बाटो। बुट्यान र लहरालाई समाउँदै भीर पहराको बाटो छिचोलेर विद्यालय आउजाउ गर्न बाध्य म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको खाम्लाका विद्यार्थी अब भने सजिलो बाटो हिँडेर विद्यालय जान र घर फर्किन पाउने भएका छन्।
विद्यार्थी र बटुवाको यस्तो बाध्यतालाई मध्यनजर गरी खाम्लाका स्थानीय युवाले श्रमदान गरेर पैदलमार्ग निर्माण गरिदिएपछि विद्यार्थी र बटुवाले जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता हटेको हो।
बर्खाको समयमा विद्यार्थीले जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला युवा क्लबको पहलमा चार दिनसम्म श्रमदान गरेर पैदलमार्ग निर्माण तथा मर्मत गरिएको स्थानीय केशरी शर्माले जानकारी दिए। शर्माका अनुसार ज्यानकै बाजी राखेर विद्यार्थी दैनिक विद्यालयमा आवतजावत गर्नुपर्ने बाध्यता भएपछि सामूहिक श्रमदान गरी बिहीबार पैदलमार्ग निर्माण तथा मर्मत गरेपछि अहिले विद्यार्थी र बटुवा सजिलो बाटो सुरक्षित तरिकाले आउजाउ गर्न पाएका छन्।
सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले पदमार्ग निर्माण तथा मर्मतमा चासो नदेखाएपछि युवा क्लबले आफैँले पदमार्ग निर्माण तथा मर्मत गरी सुरक्षित बनाएपछि बालबालिका र बटुवालाई सहज भएको छ। लगातार पानी पर्दा दैनिकजसो जोखिम मोलेर कलिला बालबालिका आवतजावत गर्नुपर्ने बाध्यता रहेको सो पदमार्ग निर्माण र मर्मतका लागि आगामी दिनमा वडा र अन्य निकायबाट नै पहल हुनुपर्ने स्थानीयवासीले माग गरेका छन्।