नुवाकोट। पाँच मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । बाढीले बाँधमा क्षति पुर्याएपछि आयोजनाको उत्पादन बन्द भएको हो।
आयोजना निर्माण कम्पनी बुद्धभूमि हाइड्रोपावरका अध्यक्ष पूर्णलाल श्रेष्ठले बाढीले बाँध फुटेको बताए । दुप्चेश्वर गाउँपालिका ५ र पञ्चकन्या गाउँपालिका ४ भई बग्ने तादी र चन्द्रवती खोला दोभानमुनि तादीखोलामा बाँध छ । उक्त बाँधबाट पञ्चकन्या–४ थप्रेकको नौटारीसम्म २८ सय मिटर लामो पाइपबाट विद्युतगृहमा पानी पठाई विद्युत् उत्पादन गरिँदै आएको थियो ।
करिब ६ महिनाअघि आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको थियो । हाइड्रोपावरको बाँधस्थलमा फसेका ३ जना कर्मचारीको बुधबार बिहान उद्धार गरिएको छ । उनीहरू पानी खोल्न र बन्द गर्न खटिएका थिए । खोलामा पानीको बहाव एक्कासि बढेपछि सोही खोलाको बीचमा अड्किएका थिए ।