काठमाडौं। सोलुदूधकुण्ड नगरपालिका–२ र ३ नम्बर क्षेत्रमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका–११ का ३५ वर्षीय कुलबहादुर राई, सोही नगरपालिका–३ मा अस्थायी बसोवास गर्दै आएका ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३२ वर्षीय भलाकाजी तामाङ छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ परेका तीन जनाविरुद्ध चोरी कसुरमा मुद्दा चलाइएको छ। आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राति फलामको पाताहरु गाडीमा राखेर लैजाने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएका थिए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार प्रहरीले तीनै जनालाई बा१६च ५२६९ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरेको बताए। तीनैविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।