काठमाडौं। पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलन गर्ने निर्णय गरेका छन्। साउन २२ गते बसेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय पदाधिकारीको बैठकले नेपाल आयल निगमले सहमति पालना नगरेकाले आन्दोलन गर्ने निर्णय गरेको हो।
गत चैतमा आन्दोलन गरेका व्यवसायीले नेपाल आयल निगमसँग सहमति गरेर आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर निगमले सहमति पालना नगरेपछि आफूहरू पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष खगेश्वर बोहोराले भदौ १ सम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र आन्दोलनका अन्य कार्यक्रम गर्ने बताएका छन्।
गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको जिकिर छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्र्यांकर चलाउन नसकिने बताएको छ ।
बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्र्यांकर व्यवसायीहरू गत वर्षदेखि नै आन्दोलित छन् । भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समितिले निर्धारण गरेपछि तत्कालीन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।
निगमको अध्ययन समितिले रूटअनुसार ३ देखि १६ प्रतिशतसम्म भाडा बढाउन सुझाव दिएको थियो, जसलाई निगमले अधिक भएको भन्दै थप अध्ययन गर्न पुल्चोक इन्जिनीयरिङ कलेजलाई अध्ययन प्रतिवेदन थमाएको थियो ।