काठमाडौं। लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य ८८ प्रतिशत पूरा भएको हो।
अहिले आयोजनाको बाँध, विद्युतगृह, सुरङमार्ग सबै क्षेत्रको काम एक साथ अघि बढेको छ । गत वर्षको असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएर क्षतिग्रस्त सो आयोजनाको बाँध क्षेत्रको पुनर्निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ।
आयोजनामा हालसम्म पाँच हजार एक सय मिटर सुरुङ खन्ने र एक हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम पूरा भएको छ । हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण गरिरहेको विद्युतगृहको ८५ प्रतिशत काम पूरा भएको छ भने इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम ७० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजनाको सबै काम पूरा गरेर २०७९ माघभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाबाट यसअघि २०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गतवर्षको १ असारको राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँदा तालिका प्रभावित भएको हो ।
आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपूर सबस्टेसनमा जोडिनेछ ।
सबस्टेसनसम्मको आवश्यक प्रसारणलाइन पनि कम्पनी आफैले निर्माण गरिरहेको जनाएको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछ । प्रसारण लाइनको काम पनि ६५ प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ ।