काठमाडौं। सेती जलविद्युत आयोजना र सेती–६ निर्माणका लागि लगानी बिहीबार सम्झौता हुने भएको छ। यी दुई जलविद्युत आयोजना निर्माणका लागि बिहीबार बोर्ड र भारतीय कम्पनी एनएचपिसीबीच सम्झौता हुने भएको हो।
लगानी बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले भारतीय कम्पनी एनएचपिसीले दुई वर्ष भित्रमा विस्तृत परियोजना प्रतिवेदन पेश गर्ने बताए।
कम्पनीले सम्झौता भएको ४५ दिनभित्र सेती जलविद्युत आयोजनाको सर्वे लाइसेन्स पाउँछ। छ महिनाभित्र सेती–६ को सर्वे लाइसेन्स दिने बोर्डले जनाएको छ। बोर्डले उक्त लाइसेन्स अनुमोदन गरेपछि कम्पनीले अध्ययन सुरू गर्छ।
एनएचपिसीले तयार गरेको डिपिआर बोर्डले स्वीकृत गरेपछि परियोजना विकास सम्झौता हुन्छ र कम्पनीले उत्पादन अनुमति पत्र पाउँछ। त्यसपछि आयोजना निर्माण प्रकृया अघि बढ्ने बताइएको छ।
सरकारले यसअघि नै यी आयोजनाको थप अध्ययनका लागि एनएचपिसीसँग गरिने सम्झौतापत्र स्वीकृत गरिसकेको छ।
साउन २३ गते बसेको बोर्डको बैठकले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी–६ संयुक्त जलविद्युत परियोजना विकासका लागि थप अध्ययन गर्न विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो।