काठमाडौं। ताप्लेजुङमा निर्माण भइरहेको मध्य मेवा जलविद्युत आयोजना (७३.५ मे.वा) को भूमिगत विद्युतगृहको गुफा खन्ने काम सकिएको छ।
ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडले कुल ६१.५ मिटर लम्बाइ, १५ मिटर चौडाइ, २७ मिटर उचाइ भएको गुफा खन्ने कार्य पूरा गरेको हो।
कम्पनीले नौ महिनाभन्दा कम समयमै गुफा खन्ने काम सम्पन्न गरेको छ । सो क्याभनमा विद्युतगृह बनाई जर्मन प्रविधिबाट निर्माण गरिएका २४.५ मेगवाट क्षमताका तीनवटा टर्वाइन जडान गरिनेछन् ।
मेवा डेभलपर्स लिमिटेडद्वारा जारी विज्ञप्तिमा आयोजनाका सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारणलाइन लगायतका कार्यसमेत द्रुत गतिमा भइरहेको उल्लेख छ । सुख्खा याममा समेत ७३.५ मे.वा. पूर्ण क्षमतामा दैनिक ६ घण्टा पिकिङ ऊर्जा उत्पादन गर्न सकिने उक्त आयोजनाको निर्माण सम्पन्न पश्चात वार्षिक ४३ करोड ६० लाख विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्ने मेवा डेभलपर्सले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको औसत विद्युत खरिद मूल्य प्रतियुनिट ६.१३ रुपैयाँका हिसाबले मध्य मेवाले न्यूनतम दुई अर्ब ६७ करोड ३१ लाख रुपैयाँ आम्दानी गर्नेछ ।