काठमाडौं। विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह निर्माण सुरु भएको छ ।
मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको हो।
मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आईओसी)ले गर्ने बताइएको छ ।
उक्त पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । भण्डारण गृह निर्माण नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले भने । उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कार्यबाट पाइपलाइनबाट डिजेल आयात गर्न सुरु भएको बताइएको छ ।
दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार १०० किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण भइरहेको छ । साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्यांकर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको हो ।
यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्यांकरमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो । हाल पाइपलाइनबाट प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।