काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले चाहे इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सकिने बताएका छन् ।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा नेता सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्नेमा जोड दिए ।
स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको बेला सत्तारुढ दलका नेता सिंहले इन्धनको मूल्य घटाउनुपर्ने बताएका हुन् ।