काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रसारणलाइनको समस्या कतै नभएको दाबी गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुले उत्पादन गरेको बिजुली प्रसारणलाइनको अभावमा खेर फाल्नु परेको गुनासो गरेपनि निर्देशक घिसिङले कतै त्यस्तो समस्या नभएको बताएका हुन्।
अपर तामाकोसी जलविद्युत कम्पनीको चौधौं साधारणसभालाई सम्बोधन गर्दै उनले पहिले केही आयोजनामा समस्या भएपनि अब त्यस्तो समस्या नरहेको दाबी गरे।
उनले भने, ‘प्रसारणलाइनहरु सम्पन्न भएका छन्। केही आयोजनामा जो डेभलपर छ, उहाँहरु नै प्रसारणलाइन बनाउन पनि सहभागी हुनुहुन्छ। त्यहाँ समस्या छ। एक दुई ठाउँमाबाहेक अन्त समस्या छैन।’
घिसिङले अहिले प्रसारणलाइनहरु बनेपनि प्रोजेक्टहरु नआएको बताए। उनका अनुसार कोसी करिडोरमा ६ देखि ८ सय मेगावाटको प्रसारणलाइन बनको छ। तर ३० मेगावाटको मात्रै प्रोजेक्ट जोडिएको उनले बताए।