काठमाडौं। नेपालका विभिन्न स्थानमा २५ वटा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्नका लागि सम्झौता भएको छ। सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रअनुसार, प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालनमा रहेका ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पेट्रोल पम्प तथा प्रहरी कार्यालयका उपयुक्त स्थानमा गरी २५ स्थानमा विद्युतीय गाडीको चार्जिङ स्टेसन स्थापना गरिनेछ ।
यी चार्जिङ स्टेसन दीर्घकालीनरूपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुने समझदारीमा उल्लेख छ । नेपाल प्रहरीसँग भएको साझदारी अनुसार, प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्नेछ ।
उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्नेछ । नेपाल प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउनेछ । साथै, निर्माण भएपछि चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा पनि नेपाल प्रहरीले गर्नेछ ।
चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभ रूपमा उपयोग गर्न पाउने व्यवस्था गर्नु पर्ने समझदारीमा उल्लेख छ । सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले संकलन गर्नेछ ।