काठमाडौं। नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि बस्ने भएको छ। बैठकका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेका छन्।
सचिवस्तरीय बैठकको तयारी स्वरुप आज दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ ।
बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको बुझिएको छ।
६८३ मेगावाट क्षमताको सुनकोशी–३ अर्धजलाशययुक्त आयोजना हो । बंगलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिहरुसहित २२ तारिखमा काठमाडौं आइपुगेको बंगलादेशको टोलीले मंगलबार सुनकोशी–३ जलविद्युत आयोजनाको प्रस्तावित निर्माण स्थलको स्थलगत अनुगमन गरेको थियो ।
दुई देशका अधिकारीहरुको बैठकमा नेपाल–बंगलादेश ऊर्जा व्यापारका लागि प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत व्यापारका लागि भारतको पनि समर्थन लिनेबारे पनि छलफल हुनेछ । नेपाल–बंगलादेश ऊर्जा व्यापारका लागि भारतको बाटो हुँदै प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले यसमा भारतको समर्थन चाहिने अधिकारीहरु बताउँछन् ।