काठमाडौं। पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा छात्रावास निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारको रु दुई करोडभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रवास निर्माण गरिएको हो।
छात्रवास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ। धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो। दसैँपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिए। चौबीस कोठे तीन तले सो भवन ८० विद्यार्थी राख्न सकिने क्षमताको छ।
चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रम अन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो। भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ। विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जङ्गल र खोलाको बाटो छिचोल्दै दैनिक तीन–चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ।
छात्रवासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने विश्वास गरिएको छ। गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य विद्यार्थी लाभान्वित हुने छन्। यसअघि जीर्ण छात्रावासमा निकै असुविधा थियो।