काठमाडौं। यस वर्षको साउन महिनामा पेट्रोलियम पदार्थको खपत घटेको छ । साउन महिनामा पेट्रोलको खपत ७ प्रतिशत घटेको हो।
नेपाल आयल निगमका अनुसार देशभर साउन महिनामा कुल ५१ हजार ६३० किलोलिटर पेट्रोलको खपत भएको छ। जबकि २०७८ साउनमा कुल ५५ हजार ८०४ किलोलिटर खपत भएको थियो । २०७७ साउनको तुलनामा २०७८ साउनमा १४ प्रतिशतले पेट्रोलको खपत बढेको थियो ।
त्यस्तै डिजलको खपत पनि समीक्षा महिनामा २८ प्रतिशतले घटेको छ । यो साउन महिनामा कुल ७६ हजार ४० किलोलिटर डिजल खपत भएको छ । २०७८ को साउनमा १ लाख ५ हजार ४३२ किलोलिटर डिजल खपत भएको थियो । मट्टितेलको खपत समीक्षा महिनामा ६५ प्रतिशतले घटेर यो साउनमा ३९५ किलोलिटरमा खुम्चिएको छ । खाना पकाउने ग्यासको खपत भने गत साउन र यो साउनमा बराबर जस्तै छ ।
नेपाल आयल निगम बिक्री वितरण विभाग प्रमुख विरेन्द्र गोइतका अनुसार साउन महिनामा सडक तथा पूर्वाधार निर्माणको काम न्यून हुँदा खपत घटेको हो । बर्खाको सिजन भएकाले प्राय साउन महिनामा खपत घट्ने गरेको तर गत वर्षको साउनसँगै तुलना गर्दा पनि खपत केही घटेको उनले बताए ।
त्यस्तै पेट्रोलियम पदार्थको खपत घट्नुको अर्को कारण नेपालभन्दा भारतमा मूल्य सस्तो रहनु पनि रहेको छ । विगतमा नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो हुन्थ्यो, जसले गर्दा नेपालको सीमा क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर जाने गर्थे, तर अहिले अवस्था उल्टो भएको छ । ‘अहिले सीमा क्षेत्रमा कतिपय नेपाली नम्बरप्लेटका सवारीसाधनले सीमापारि पेट्रोलियम पदार्थ भर्ने गरेका छन् यसले पनि खपत घटेको हुन सक्छ’ उनले भने ।