काठमाडौं। १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि कम्पनी स्थापना गरिएको छ। बुढीगण्डकी जलविद्युत नाम राखेर स्थापना गरिएको कम्पनीको दर्ता प्रमाणपत्र उर्जा मन्त्री पम्फा भुषालले रजिष्ट्रारको कार्यालयबाट प्राप्त गरेकी छन्।
यस कम्पनीमा विद्युत प्राधिकरण, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, स्थानीय तह, सर्वसाधारण लगायतको लगानी रहने छ ।
आयोजना निर्माणका लागि स्थापना हुने कम्पनीको अधिकृत पूँजी रु ६० अर्ब बराबरको छ। सो पूँजीलाई प्रतिशेयर रु १०० का दरले कूल ६० करोड कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । कम्पनीको तत्काल जारी पूँजी रु २० अर्ब बराबरको छ ।
कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी रु १० अर्ब बराबर छ। कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत (१५ करोड कित्ता) बराबरको शेयर हिस्सा छ। ऊर्जा मन्त्रालयको ४० प्रतिशत बराबरको (२४ करोड कित्ता) शेयर स्वामित्व रहनेछ ।
प्राधिकरणको १४ प्रतिशत (आठ करोड ४० लाख कित्ता) शेयर रहनेछ । विद्युत् उत्पादन कम्पनीको एक प्रतिशत अर्थात् ६० लाख कित्ता रहनेछ ।
त्यस्तै स्थानीयवासीको १० प्रतिशत अर्थात् छ करोड र सर्वसाधारणको पनि समान छ करोड कित्ता बराबरको शेयर प्राप्त गर्नेछन् । अर्थात् १२ अर्बको आईपिओ निष्काशन हुने छ ।