चितवन। भरतपुरका बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुरु भएको छ।नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि भरतपुरका बजार क्षेत्रका सडकमा विद्युत वितरण प्रणाली भूमिगत गर्ने काम शुरु गरेको हो।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको आज शिलान्यास गरेका छन्।
भरतपुर महानगर कार्यालयको अगाडि पूर्व–पश्चिम राजमार्गको छेउमा अध्यक्ष दाहाल र निर्देशक घिसिङले गैंची चलाएर आयोजनाको आरम्भ गरेका हुन्।
शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विद्युतीय लाइन भूमिगत गर्ने कामले स्मार्ट सिटी भरतपुरको लक्ष्यमा सघाउने बताए। उनले यो कार्य विकासमात्रै नभएर जनताको सुरक्षा र सहरको सौन्दर्यसँग जोडिएको बताए।
नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको छ। आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरणरथप गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आयोजनाले अप्टिकल फाइवर केवल बिछ्याउने तथा वितरण प्रणाली स्वचालन गरिने उनले बताए।
भारतको टाटा प्रोजेक्ट्स लिमिटेडसँग २०२२ जनवरी २० मा सम्झौतागरी कार्य प्रारम्भ भइसकेको प्राधिकरणले जनाएको छ। यो आयोजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।