काठमाडौं। गोरखामा ३०.५९ मेगावाटको यारु खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। यारु हाइड्रोपावर प्रालिले गोरखाको धार्चे गाउँपालिका–१ मा आयोजना निर्माण गर्न लागेको हो।
वन तथा वातावरण मन्त्रालयले सूचना निकालेर आयोजनाले तयार पारेको प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमाथि रायरसुझाव मागेको छ। सात दिनभित्र राय सुझाव दिन सकिने उल्लेख छ।
यसको डिजाइन डिस्चार्ज २.७३ घनमिटर हुनेछ भने ग्रस हेट १३३९ मिटर रहने देखिन्छ। आयोजनाको संरचना अन्तर्गत सतही विद्युतगृह निर्माण हुनेछ। आयोजना ३१ मिटर लम्बाइ, २०.३ मिटर चौडाइ र २३.५ मिटर उचाइ भएको रिजर्भ्वायर ३७५१ वर्गमिटरमा फैलनेछ।
आयोजनामा तीन वटा टर्बाइन हुनेछ। आयोजनामा ९३ मिटरको टेलरेस, ३६३५ मिटरको हेडरेस टनेल, ३९ मिटर गहिराइको सर्जसाफ्ट हुनेछ। २५७० मिटर लम्बाइको पेनस्टक पाइप राखिने र आयोजनासम्म पुग्न १३.५ किमि पहुँचमार्ग निर्माण गर्नुपर्नेछ।
आयोजना निर्माणका लागि १५.३७ हेक्टर जग्गा आवश्यक पर्छ। जसमध्ये ११.७७ हेक्टर स्थायी र ३.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्छ। राष्ट्रिय वनको ११.२ हेक्टर र निजी जग्गा ४.२५ हेक्टर आवश्यक पर्ने उल्लेख छ।