धनगढी । पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
भजनी नगरपालिका–८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलकाघरहरु डुबानमा परेका छन् । अहिले नदीको बहाब बढने क्रम जारी रहेको उनले बताए ।
यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेर मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् । कान्द्रानदीकै बाढीले भजनीनगरपालिका–७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन्। अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बाढी बस्तीमा पस्दा प्रभावित भएकाहरुको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।