म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको तामाखानी बन्द भएको एक सय वर्ष बितिसक्दा पनि पुनः सञ्चालनमा आएको छैन । तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएपछि बन्द भएको यो तामाखानी हालसम्म पुनः सञ्चालनमा ल्याउन कुनै पहल नै भएको छैन ।
रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएको थियो । तत्कालीन समयमा तामाखानी उत्खनन् गरेवापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण यो खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको थियो । त्यसपछिका राजनीतिक परिवर्तन पनि तामाखानी सञ्चालनमा ल्याउन कुनै पहल नै भएको छैन ।
राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेको चार वर्ष बितिसक्दा पनि अझै पहल नभएपछि खानी सञ्चालन हुने आशा मरिसकेको स्थानीयको भनाइ छ । राणा सरकारले अत्याधिक कर मागेपछि तिर्न नसकेर खानी बन्द भएपछि यहाँका स्थानीय रोजगारीका लागि अन्य पेशा गर्न र विदेश जान थालेका थिए । खानी सञ्चालनमा आउला र आफ्नै ठाउँमा रोजगारी पाइएला भन्ने सोच्दासोच्दै नाति पनातीका पालासम्म पनि खानी सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ ।