चीनले साना सहरमा गगनचुम्बी भवन निर्माण गर्न कडाइ गरेको छ। चिनले ३० लाखभन्दा कम जनसंख्या रहेको सहरमा १५० मिटरभन्दा अग्लो भवन निर्माण गर्न नपाउने नियम ल्याएको हो।
त्यसैगरी ३० लाखभन्दा धेरै जनसंख्या भएको सहरमा पनि २५० मिटरभन्दा अग्लो भवन निर्माण गर्न पाइने छैन। चीनमा अहिले नै ५०० मिटरभन्दा अग्ला भवनहरु रहेका छन्।
चीन विश्वको सबैभन्दा अग्ला भवनहरु भएको मुलुक हो। चीनमा ६३२ मिटर अग्लो सांघाई टावर र ५९९ मिटर अग्लो पिङ एन फाइनान्स सेन्टरजस्ता भवन पनि रहेका छन्। स्थानीय सञ्चारमाध्यमले सांघाइ र सेन्जेनजस्ता अत्याधिक भिडभाडयुक्त सहरमा गगनचुम्बी भवन आवश्यक रहेको बताएका छन्।
यी सहरमा पर्याप्त स्थान नभएकाले गगनचुम्बी भवन निर्माण गर्न जरुरी हुने उनीहरुको तर्क रहेको छ। तर, अन्य सहरमा भने स्थानको समस्या छैन। अन्य सहरमा गगनचुम्बी भवन आफ्नो अभिमानको लागि बनाउने गरिएको समाचारमा उल्लेख गरीएको छ।