काठमाडौं। नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।
सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला लगेको हो।
उनलाई हतकडी लगाएर लगिएको प्रहरीले जनाएको छ।
सन्दीपले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका थिए। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने पनि लेखेका थिए।
प्रहरी स्रोतका अनुसार उनी जहाजको बिजनेस क्लास टिकटमा आएका थिए। त्यस्तै यतिन्जेल उनी अमेरिकामा भएको पनि स्रोतले बताएको छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक पटक बलात्कार गरेको आरोप लागेको थियो।