उदयपुर। बेल्टारस्थित चौदण्डीगढी नगरपालिकाले १५ शय्याको प्राथमिक अस्पताल भवन निर्माण गर्ने भएको छ। पहाडी भेगमा पर्ने दुर्गम र पिछडीएको जिल्लाको रुपमा रहेको उदयपुरको बेल्टारमा सुविधा सम्पन्न अस्पताल भवन बनाउन लागिएको हो।
उक्त नगरपालिकाले आफ्नै स्थानीय स्तरमा नै स्वस्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल भवन निर्माण गर्ने योजनालाई अगाडी बढाएको हो। हालसम्म बेल्टारमा कुनै पनि स्वास्थ्य सेवा प्रदान गर्ने भवन नभएको कारणले त्यहाँको स्थानीयले समयमा नै उपचार पाउन नसकेर अकालमा नै ज्यान गुमाउनु परेको दर्दनाक अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ अस्पताल निर्माण गर्न लागेको कुरा नगरपालिकाले जनाएको छ।
अस्पताल भवन निर्माण भएपश्चात चौदण्डीगढी नगरपालिकाको मात्र नभएर पुरै उदयपुर जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने छ। सो अस्पताल बनेपछि त्यहाँका कोहिपनि स्थनीयले स्वास्थ्य सेवा बाट बञ्चित हुन नपर्ने नगरपालिकाको दावि रहेको छ। अस्पताल निर्माण हुने कुराले समयमा नै उपचार पाइने भन्दै त्यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन्। सो नगरपालिकाले अस्पताल भवन निर्माण गर्नको लागि ठेक्काको अह्वान समेत गरीसकेको जनाएको छ।