काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। त्यस्तै भूकम्पले क्षति पुर्याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको छ।
हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुखले सो क्षेत्रका ८० प्रतिशत सम्पदा पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएका छन्। वसन्तपुर दरबार क्षेत्रलाई पनि छिट्टै पुननिर्माण गर्ने जनाएका छन्। त्यस्तै हनुमानढोका दरबार क्षेत्रका सम्पदामध्ये क्षतिग्रस्त २१ वटाको काम अहिलेसम्म सुरु नै भएको छैन।
हनुमानढोका दरबार क्षेत्रमा प्रमुख ६९ र त्यसका चोक, आँगन र बहाल २२ वटा गरी कूल ९१ वटा सम्पदा रहेको मध्ये १८ वटा सम्पदा क्षति नपुगेको कारण पुननिर्माण गर्नु नपर्ने हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुखले जनाएका छन्। त्यस्तै एक–अर्कासँग अन्तर सम्बन्धित भएका कारणले अहिले बनिरहेका सम्पदाको काम नसकी अरू सम्पदाको काम गर्न नमिल्ने भएकाले २१ सम्पदाको काम अझै सुरु हुन नसकेको हो।
हाल सो क्षेत्रका सम्पदाको अबको तीन वर्षभित्र पुनर्निर्माण सम्पन्न गरीसक्ने लक्ष्यसहित काम द्रुत गतिमा भइरहेको छ। त्यस्तै दरबार क्षेत्रका ठूला सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ तथा सम्पन्न हुने क्रममा रहेका छन्। बाँकी रहेका सम्पदा साना र सहायक भएकोले पुनर्निर्माण गर्न धेरै समय नलाग्ने जनाइएको छ।
सो सम्पदा पुननिर्माणमा नेपाली काठको साल मात्र प्रयोग गरिएको छ। कोभिड महामारीको कारण आवश्यक काठ अभावमा निर्माण कार्य ढिलाई हुन पुगेको हो।