मुस्ताङ। सडक निर्माण कार्यमा ढिलाइ गर्ने ७ वटा निर्माण कम्पनीलाई सडक विभागले स्पष्टिकरण सोधेको छ। सडक विभाग अन्तर्गतको कालिगण्डकी कोरीडोर (बेनी जोमसोम कोरला सडक योजना) ले एक सूचना जारी गरी ७ वटा निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टिकरणसहित कार्यालयमा उपस्थित हुन दिर्नेशन दिएको हो।
तामाङ कन्स्ट्रक्सन, गौरी पार्वती निर्माण सेवा, कोशी एण्ड न्यौपाने निर्माण सेवा (सप्तकोशी जलजला), पप्पु कन्स्ट्रक्सन, रौताहा कन्स्ट्रक्सन, आत्रेय निर्माण सेवा र सारस कन्स्ट्रक्सनलाई विभागले स्पष्टिकरण सोधेको हो। यी निर्माण कम्पनीहरुले जिम्मा लिएको आयोजनाको निर्माण कार्य सम्झौताको शर्त अनुसार नगरेको र काम सम्पन्न गर्नेमा कुनै चासो समेत नदेखाएको विभागको भनाई छ। यी निर्माण कम्पनी मध्ये पप्पु र काेशी एण्ड न्याैपाने निर्माण कम्पनी यसअघि पनि कालाेसूचीमा परिसकेका छन्।
विभागले कालिगण्डकी कोरीडोर अन्तर्गत झैटी–कोरल्ला सडकखण्ड निर्माण तथा स्तरोन्नतीमा तामाङ–गौरीपार्वती–कोशी एण्ड न्यौपाने जेभीले ढिलाइ गरेको जनाएको छ। त्यसैगरी विभागका अनुसार घसा–जोमसोम खण्डको काममा पप्पु–गौरीपार्वती–कोशी एण्ड न्यौपाने जेभीले लापरबाही गरेको छ। जोमसोम कागबेनी सडकखण्डको स्तरोन्नती कार्यमा रौताहा–अत्रेय–सारस जेभीले चरम ढिलाइ गरेकाले कारबाही प्रक्रिया अघि बढाउनु परेको विभागले जनाएको छ।
विभागले यी कम्पनीसँगको ठेक्का तोडि कालोसूचीमा राख्ने तयारी थालेको छ। यी कम्पनीले ७ दिनभित्र कार्यालयमा उपस्थित भएर उचित स्पष्टिकरण नदिए कालोसूचीको प्रक्रिया थाल्ने विभागको चेतावनी छ।