रामेछाप । रामेछापको मन्थली र सुनापति गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती र मास लाइट जडान गर्ने भएको छ। प्राधिकरणको उज्यालो सहर अभियान अन्तर्गत उक्त कार्य हुन लागेको हो ।
प्राधिकरणका अनुसार मन्थली र सुनापतिमा ५ सय सडक बत्ती र ५ मास लाइट जडान हुनेछन् । ठूलो टावरमा हुने मास लाइटले आसपासका क्षेत्र पूरै उज्यालो बनाउने अपेक्षा गरिएको छ । मास लाइटमा उच्च भोल्टेजका ८ वटा बत्ती ८ तिर फर्काएर राखिनेछ
अभियान अन्तर्गत २ प्रकारका सडक बत्ती जडान हुनेछन् । सूर्योदय र सूर्यास्तको समयमा आफैं बल्ने र निभ्ने गरी केही बत्ती राखिनेछ भने केही प्राधिकरणबाटै हेर्न, उज्यालो थपघट गर्न मिल्ने गरी राखिनेछ । अभियान अन्तर्गत उच्च क्षमताको लामो अवधिसम्म उज्यालो दिने लाइट जडान हुने बताइएको छ ।
मास लाइट भने मन्थली बसपार्क र मदन आश्रित चोकमा जडान हुनेछ । सुनपति गाउँपालिकामा पनि २ वटा मास लाइट हाल्ने तयारी भएको छ ।स्थानीय तहसँगको सहकार्यमा राख्न थालिएको सडक बत्ती तथा मास लाइटका लागि प्राधिकरणले ठेक्का सम्झौता गरिसकेको छ । बत्ती जडानको काम केही दिनभित्रै सुरु हुने प्राधिकरणले जनाएको छ । र उक्त कार्य २०८० को साउन महिनाभित्र सम्पन्न गरिने बताइएको छ। यस आयोजनाका लागि कूल ४ करोड ७२ लाख ८४ हजार २ सय ८५ रुपैयाँमा सूर्योदय उर्जा कम्पनीसँग खरिद सम्झौता भएको छ ।