पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कास्की क्षेत्र नं–२ का उम्मेदवार सुर्वण राज पन्तले युवालाई देशमै रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। पोखराका विभिन्न स्थानमा भएको घरदैलो कार्यक्रममा उनले युवालाई ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउने आश्वासन दिएका हुन्।
पन्तले पोखरा–३३ विकासका हिसाबले महानगरपालिको कर्णाली रहेको बताएका छन् । उनले भने, ‘यहाँ स्वास्थ्यको पूर्वाधार निमार्ण आवश्यक छ । विकासका हिसावले निकै पछाडी रहेको ३३ मा रेल, रंगशाला भन्दा पनि स्वास्थ्य र गुणस्तरिय शिक्षाको जरुरी छ ।’
जनतालाई ठूला ठूला गफ भन्दा पनि सामान्य भान्साको समस्या महत्वपूर्ण रहेको पन्तले बताए । उनले पोखराको तमाम समस्याको समाधनका निम्ति आफू कटिबद्ध रहेको समेत बताए ।
पन्तले पोखरामा रहेका सुकुम्बासीको समस्याको दिगो समाधान गर्ने समेत बताएका छन्।
उनले पोखरामा सुकुम्बासी समस्या जटिलरुपमा रहेको र यसलाई चुनावी एजेन्डा मात्रै भन्दा पनि दिगो समाधान तर्फ लाग्नु पर्ने बताए । पन्तले पोखरामा रहेका सुकुम्बासी जनसमुदायलाई रातो लालपूर्जा भन्दा पनि रोजगारको आवश्यकता रहेको धारणा ब्यक्त गरे ।
उनले यो ५ वर्षमा सुकुम्बासीको आर्थिक स्तर सबल बनाउने दाबी समेत गरे।