ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका–९ स्थित प्रहरीचौकी कोषहाटको नयाँ भवन निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारको झन्डै १ करोड ८६ लाख लागतमा शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले भवन निर्माण सम्पन्न गरेको हो ।
सुविधा सम्पन्न पक्की भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) अरुणकुमार बिसिले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख बिसिले प्रहरीको नयाँ भवन बनेसंगै नागरिकको शान्ति सुरक्षामा थप मद्यत पुग्ने बताए । यसअघि पुरानो भवनबाट दिँदै आएको प्रहरी सेवा अब नयाँ आधुनिक र सुविधा सम्पन्न भवनबाट प्रवाह हुने हुँदा प्रहरीको मनोबल उच्च हुुनुको साथै कामकारबाहीमा समेत सकारात्मक असर पर्ने उनको भनाइ छ ।
त्यस्तै प्रहरी एक्लैले शान्ति सुरक्षा र अमन चयन कायम गराउन कठिन हुने भन्दै उनले यसका लागि नागरिक, स्थानिय सरकार र सरोकारवालाको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।