काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणालीमा मंगलबार प्राविधिक समस्या भएको छ। कार्यालयले एक सूचना जारी गरी प्रणालीमा प्राविधिक समस्या भएको जानकारी दिएको हो।
प्रणालीमा प्राविधिक समस्या हुँदा प्रयोगकर्ता पनि प्रभावित बनेका छन्। प्रणालीमा समस्या भएपछि कार्यालयले मंगलबार अन्तिम म्याद भएका बोलपत्रको समयावधि थप गरेको छ।
सहज पहुँच हुन नसकेको हुँदा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७४ को दफा ३१ को उपदफा १ को खण्ड (ग) बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली व्यवस्थापकले म्याद थप गरेका छन् ।
प्रणालीमार्फत मंगलबार अनलाईन दाखिला गर्ने अन्तिम म्याद भएका सम्पूर्ण बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको म्याद थप गरिएको अनुगमन कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले सूचनामा मंसिर ६ गते अन्तिम म्याद भएका बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको म्याद मंसिर ७ गतेसम्म कायम गरिएको जानकारी दिएको छ ।