फाइल तस्बिर
दार्चुला। दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको काम हालसम्म ८५ प्रतिशत पुरा भएको छ। अपि पावर कम्पनीले निर्माण गरिरहेको यो आयोजनाको सिभिलतर्फको ८५ प्रतिशत निर्माण पूरा भएको हो।
उक्त विद्युत अबको ४ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । दुर्गम जिल्लामा पर्ने यो आयोजनामा बिना अवरोध काम हुन सकेकाले नै फागुनभित्र प्रसारण प्रणालीमा जोड्न सम्भव देखिएको कम्पनीले जनाएको छ।
आयोजनाको बाँध क्षेत्रको पनि ८० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ भने बाँकी २० प्रतिशत काम तालिकाभित्रै पूरा गर्ने गरी निर्माणमा तीव्रता दिइएको आयोजनाले जनाएको छ । पाइप लाइनको काम पनि धमाधम भइरहेको छ । आयोजनाको ६ किलोमिटर पाइप लाइनमध्ये ४.७ किलोमिटरको काम पूरा भइसकेको उनले जानकारी दिए ।
आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ ।
प्रसारण लाइनको रुटमा ५२ वटा टावर निर्माण गर्नुपर्नेछ । जसमध्ये ५१ वटाको जग खनेर सकिएको छ । प्रसारण लाइनका ३५ वटा टावर खडा भइसकेका छन् ।अहिले विद्युतगृह नजिकै स्वीचयार्ड निर्माणको काम पनि भइरहेको कम्पनीले जनाएको छ ।
यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन गर्न सकिनेछ ।