हुम्ला। एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु(याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती विस्तार कार्यक्रममार्फत जस्तापाताले छाएका नयाँ घर निर्माण भएका हुन्। बासविहीन बनेको छ महिनापछि नयाँ घरमा बस्न पाउँदा पहिरोपीडितलाई राहत मिलेको छ।
खार्पुनाथ गाउँपालिका–२ को थालीगाउँका पहिरोपीडित मनसिङे दमाईले जस्तापाताले छाएको नयाँ घरमा सर्न पाएकोमा खुसी व्यक्त गरे। यसअघि उनी माटोको छानो भएको घरमा बस्दै आएका थिए। सो घरमा बसेकै बेला गत वर्षको कात्तिक पहिलो हप्ता अविरल वर्षासँगै आएको पहिरोले उनीलगायत गाउँका १८० घरधुरीलाई विस्थापित बनाएको थियो। घर भत्किएपछि विस्थापित परिवार पाल टाँगेर बस्दै आएका थिए। नयाँ सुरक्षित स्थानमा घर निर्माण गरेर सरेपछि अब सुरक्षित भएको उनले बताए। यसअघि माटोले छापेको घरमा बस्दा सधैँ बर्खायाममा पानी चुहिने र घर भत्किने त्रासका बीच वर्षदिन बित्ने गरेको सम्झिँदै उनले भने, “मलगायत यस वडाका नौ घरधुरीका दलितले पनि नयाँ घर पाएका छन्।”
नयाँ घर पाएका अर्का स्थानीय जय रावलले अब वर्षौंसम्म सुरक्षित घरमा बस्न पाइने बताए। छ महिना लगाएर बस्ती विस्तार कार्यक्रमको मापदण्डबमोजिम निर्मित घरमा तीन दिनअघि उनी सरेका थिए। पहिरोले घरमा क्षति पु(याएर बस्न सक्ने अवस्था नभएपछि उनी पाल टाँगेर बस्दै आएका थिए। गत वर्षको पहिरोमा बाँचेर नयाँ घरमा बस्न पाएको बताउँदै उनले गाउँघरमा सरकार भएको अनुभूति जनताले गर्न पाएको बताए। गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले पहिरोपीडित १८० घरधुरीका लागि तीनकोठे जस्तापाताले छाएका घर निर्माण भएको जानकारी दिए। पहिरो गएको स्थानभन्दा टाढा नयाँ र सुरक्षित स्थानमा घरहरू निर्माण गरिएको छ। गत वर्ष पहिरो गएका बेला भएको क्षति सम्झँदै अध्यक्ष रावलले भने, “यति चाँडै पहिरोपीडितले घरमा बस्न पाउँछन् भन्ने मैले सोचेको थिइनँ तर सम्भव भयो, खुसी लागेको छ।”
तीनकोठे घरसँगै शौचालय र खानेपानीको समेत व्यवस्था गरिएको छ। गत वर्ष पहिरो गएपछि अध्यक्ष रावल आफैँ क्षति विवरण लिन घटनास्थल पुगेका थिए। त्यसपछि उनले गाउँपालिकाको खर्चमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हेलिकोप्टरबाट स्थलगत अनुगमनसमेत गराएका थिए। थाली बस्तीको अवस्था देखेर मुख्यमन्त्री शाहीले अनुगमनबाट फर्किएलगत्तै नयाँ घर निर्माणका लागि बस्ती विस्तार कार्यक्रममार्फत बजेटको व्यवस्था गरेका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले प्रतिघर आठ लाख ९५ हजार रुपियाँ खर्च गरेर नयाँ घरको निर्माण कार्य पूरा भएको बताए। कार्यक्रमले उक्त बस्तीको वातावरणीय प्रभाव मूल्याङ्कन (एआईए)समेत गरेको उनले बताए। बस्ती निर्माणका लागि कार्यक्रमले कुल १६ करोड रुपियाँ खर्च गरेको छ। गोरखापत्रबाट